(सुरेश दाहाल )
चारैतिर अग्ला पहाड , कतै हरियो जङ्गल , कतै रित्ता भीर , तलपट्टी नागबेली बग्दै गरेको खोला, माथिपट्टी सेतो हिउँले झपक्कै छोपेको हिमाल र सिरमाथिको खुल्ला निलो गगन, पारिपट्टीको पहाडको क्षितिजबाट लुकामारी खेल्दै गरेको घाम….बिहान ७ बजेको यो मनोरम द्रिश्यले मलाई आभाष दिलायो…साच्चै नेपाल स्वर्गको एक अंश हो। यही पहाडको परिधिको एक अग्लो पहाडको काखमा लुटुपुटु भएर बसेको लक्ष्मी प्रतिष्ठानो छात्रवास र त्यसभित्र बिहानको सिरेटोको तालसँगै ताल मिलाएर केटाकेटीले गाएको बालगीत ….”क बाट कछुवा ख खरायो….खरायोको सिङ्ग छैन कता हरायो…” ले साच्चै मेरो ढुकढुकीला पनि त्यहि तालमा तालबद्द बनायो।
लक्ष्मी प्रतिष्ठानको बाहिरी आवरण र वातावरण देखिन्छ उज्यालो तर यसको सङ्घर्षको यात्रा अध्यारो र पीडादायी छ। लक्ष्मी प्रतिष्ठानका संस्थापक श्री विष्णु गौतम पर्यटन व्यवसायीको रुपमा काम गर्दै आईरहनुभएको थियो। आफ्नी श्रीमती लक्ष्मी गौतम, दुई छोरा, कुमार गौतम र बलराम गौतम सँग सामान्य जीवन यापन गरिरहनुभएको थियो। छोरा कुमार गौतम पनि पर्यटन व्यवसायी हुनुहुन्थ्यो। तर अकस्मात उनीमाथि बज्रपात आईपर्यो। सन २००८ मा उनका छोरा कुमार गौतमको दुर्घटनाबाट असामयिक निधन भएकाले उहा र परिवार शोकाकुल भएको थियो।
भनिन्छ “Time Heals All The Wounds” तर उहाँको अवस्थामा भने त्यसो भएन। आफ्नो मुटुको घाउ पुर्नुपर्ने समयले उहामाथि अर्को खेल खेल्यो। त्यस दुखद घटनाको करिब ९ महिना पछि कान्छा छोरा बलरामले मुटुको घाउ गहिरो बनायो। परिवार भावविह्वल भयो। बाच्ने आशा नै मरेर गयो। तर बिष्णु गौतमजी ले हिम्मत हार्नु भएन। आफ्नी श्रीमतीको नाममा लक्ष्मी प्रतिष्ठानको स्थापना गरेर आफ्नो मिहेनतले चितवन जिल्लाको व्यस्त र बिकसीत बजारबाट निकै टाढा – लोथर ९ कान्दामा बसोबास गर्ने चेपाङका छोराछोरीका लागि “कुमार-बलराम स्म्रीति छात्रवास” को स्थापना गर्नुभयो।
लोथर गा.वि.स को कान्दा गाउँ वरिपरिकै एकमात्र धेरै कम बिद्यार्थी पढ्थे, कारण थियो – चेपाङ बस्तीमा पढाईप्रतिको चेतना कम भएको र घरबाट बिद्यालय आउन जानै बिद्यार्थीलाई २-३ घण्टा लाग्ने भएको।
“बिद्यार्थी हिड्नुपर्ने पीरले स्कुल आउनै मान्दैनन्। २-३ घण्टा उकालो चढेर स्कुल जान अभिभावकले पनि जोड गर्दैनन् “- कान्देश्वरी प्रा.वि. का प्रधानाध्यापक बालक्रिष्ण थपलिया सम्झिन्छन।
चेपाङ समुदायको गरिबि रहनसहन र अचेतना देखेर विष्णु गौतमजी ले सहज शिक्षाको कमी महसुस गर्नु भयो। त्यसैले उहाले यस स्थानमा छात्रवास निर्माणको आधार खडा गर्नु भयो।
“बिद्यार्थी यहीँ पढ्छन अनि होस्टेलमा बस्छन। उनीहरु सबै मिलेर खाना खान्छन, सँगै पढ्छन र सँगै खेल्छन् । यस्तो गर्दा उनीहरुमा पढाईप्रति रुची पनि बढ्छ र समुहमा काम गर्न पनि सिक्छन् । “- भन्छन बाल क्रिष्ण थपलिया।
अहिले यस होस्टेलमा ८७ जना बिद्यार्थी छन् । सबै राम्रो सँग पढेका छन् । कहिले काँहि उनीहरुका अभिभावक आउदा आफ्नो बच्चाले फररर अङ्ग्रेजी बालकविता भन्दा खुसीले आँखा रसाउँछ। आदर र आभारको निर्दोस आँखाले बिष्णु सरलाई हेर्छन् – झुलुक्क , बिष्णु सर मुसुक्क हासिदिनुहुन्छ र आखाको डिलमा टिलपिल गरिरहेको आशुको ढिका तपक्क झर्छ, चाउरिएको गालाबाट…।