एजेन्सी
गत वर्ष पहिलो एकीकृत नमुना बस्ती सकेपछिको कुरा हो, सरसफाइ सद्भावना दुत तोकिएका धुर्मुस–सुन्तली देश बढार्ने अभियानमा थिए। यसरी उनीहरु तराई–मधेसका थुप्रै जिल्लाका सरकारी कार्यालयका शौचालयदेखि सडकसम्म बढार्दै हिँडेका थिए। मधेस आन्दोलन र भारतीय नाकाबन्दीलाई छिचोल्दै उनीहरु पहाड हुँदै तराईका बिभिन्न जिल्ला पुगे। पहाड–मधेसबीच केही खटपटजस्तो सुनिएको बेला मधेसमा आन्दोलनतरत मोर्चाका दलहरुले समेत उनीहरुको अभियानलाई सघाए।
यसैक्रममा महोत्तरी आइपुगेका बेला पत्रकार, सरकारी कर्मचारीसँग सरसफाईबारे अन्तक्र्रिया गर्दै गर्दा एक पत्रकारले भनेछन्, ‘एउटा मुसहर बस्ती छ, त्यहाँ तपाईं एकपल्ट पुगिदिनुहुन्छ कि?’
धुर्मुसले चासो देखाए। वस्तुस्थिति बुझिसकेपछि मुसहर बस्ती पुगे। ‘जाडोको महिना न खानेकुरा न न्यानो हुनेगरी ओढ्न पुग्ने कपडा,’ धुर्मुसले त्यतिबेलाको मुसहर बस्तीको तस्बिर सम्झिए, ‘जताततै फोहोर। बालविवाहका कारण पढ्ने महिला थिएनन्। नजिकै स्कुल हुँदा पनि कोही स्कुल जाँदैनथ्यो। मन्जे सदा नामका एक किशोर मात्र एसएलसी पास थिए।’
बढ्दो चिसोको मौसममा ज्यानभरी नच्यातिएको लुगा लगाएको बालक देख्न मुस्किल परेपछि धुर्मुसको दिमागमा काठमाडौंमा छोडेर आएकी सानी छोरीको अनुहार खिचियो। उनले आफ्नी छोरी र मुसहर बालबालिकालाई तुलना गरे। सोचे, यिनीहरुले एक जोर लुगा र ओढ्ने पाए कति खुसी हुँदा हुन्?
अमेरिका बस्ने एक सहयोगीलाई त्यो कुरा सुनाएपछि तुरुन्तै पाँच लाख दिन तयार भए। केही दिनमै दुई गाडीभरी दालचामल र लत्ताकपडा बोकेर बस्ती पुगे। एसएलसी पास गरेका एक मात्र मन्जे सदालाई प्रोत्साहनस्वरुप पाँच हजार पुरस्कार दिए। उनकै नेतृत्वमा बालक्लब गठन गरिदिए।
त्यतिबेलैदेखि बस्तीमा सकारात्मक परिवर्तन आउन सुरु भएको उनको भनाइ छ। मन्जेले पुरस्कार पाएपछि बालबालिकालाई भेला गरेर ट्युसन पढाउन सुरु गरेछन्। नियमित सरसफाई र अनिवार्य स्कुल जानुपर्ने नियम बनाइएछ। धुर्मुसले त्यतिबेलै योजना बनाएका थिए, ‘सकियो भने यिनीहरुलाई एउटा राम्रो घरको व्यवस्था मिलाउन पर्ला।’
केही समयपछि धुर्मुस–सुन्तली सिन्धुपाल्चोकको गिरानचौरमा दोस्रो एकिकृत नमुना बस्ती बनाउन व्यस्त हुँदा पनि मुसहर बस्तीबारे चासो राख्न भने छोडेका थिएनन्। मुसहर बस्तीमा खानेपानीको व्यवस्था गर्न पनि उनीहरुले सघाएका थिए। सँगै, बालमैत्री अभियानका लागि फिल्म निर्माणको काम पनि गरिरहेका थिए।
गिरानचौर बस्ती सकिएपछि बालमैत्री फिल्म ‘ज्योति’को प्रदर्शनका लागि बिभिन्न पहाडी जिल्ला चाहर्न थालेसँगै देशलाई बालमैत्री बनाउने अभियान थाले। तर, त्यो अहिले नै सम्भव हुने काम थिएन। धेरैको प्रश्न थियो, उनीहरुले तत्काल के गर्लान्?
यो कुरा धुर्मुसले पनि महसुस गरिसकेका थिए। अर्कोतिर, उनलाई ‘सामाजिक कामको नशा लागिसकेको’ थियो। ज्योति फिल्मको प्रदर्शनका लागि सिन्धुपाल्चोक पुग्दा धुर्मुसले मनमा आगामी योजनाबारे कुरा खेलाउँदै जाँदा एउटा सोच आयो, मुसहर बस्तीमा तेस्रो एकिकृत बस्ती बनाउने। सुन्तलीलाई सुनाए।
मुसहर बस्तीमा एकिकृत बस्ती बनाउँदा मुख्य दुई फाइदा हुने उनको निष्कर्श थियो।
पहिलो, गरिब मुसहरको जीवनस्तर उकासिने।
दोस्रो, तराई र पहाडबीच बढेको दुरी मेट्न भूमिका खेल्न सक्ने।
‘हामीले सुरुमा यहाँ बस्ती बनाउने सोचेका थिएनौं,’ धुर्मुसले भने, ‘कसैले घर बनाइदिए हुने नि भन्ने लागेको थियो। मलाई यहाँ बस्ती बसाउन यसकारणले घच्घच्यायो, गिरानचौरमा बस्ती बनाउँदै गर्दा दाउरा बेचेर जम्मा पारेको ६० हजार बस्तीलाई सहयोग गर्छौं भन्नुभएको थियो। तर, हामीले लिन मानेनौं। त्यही बस्तीको विकासका लागि चलाउन भन्यौं। त्यस्तोबेला मिल्ने खुसी सायदै भेटिन्छ। त्यो खुसी सद्भावले दिएको थियो।’
अर्को कुरा, उनीहरु जुन ठाउँमा बस्ती बनाउँदै छन्, धुर्मुस–सुन्तलीका लागि त्यो ठाउँ अघिल्ला बस्तीका मानिसहरुभन्दा फरक छन्। भूगोल, वर्ण, आर्थिक हैसियतजस्ता कुराले होइनन्। फरक यो छ, अघिल्ला बस्ती बनाएका ठाउँ काभ्रे र सिन्धुपाल्चोकमा धुर्मुस–सुन्तलीलाई नचिन्ने सायदै कोही थियो। त्यहाँका वासिन्दाले कुनै न कुनै माध्यमबाट धुर्मुस–सुन्तलीको कलाकारिताबाट हाँसोको फाइदा लिइसकेका थिए। तर, मुसहर बस्तीमा त उनीहरुलाई कसैले पनि चिन्थेनन्। धुर्मुस–सुन्तलीका लागि यो एउटा नयाँ अनुभव रहनेछ।
धुर्मुस मुसहर बस्तीलाई सद्भावको बस्ती बनाउन चाहन्छन्। त्यसैले उनले अहिले भुइँचालो पीडित बस्तीभन्दा परको गाउँ रोज्नुको कारण यसो पनि रहेछ।
‘हामीले बस्ती बनाउन लागेका होइनौं,’ धुर्मुस भन्छन्, ‘मलाई हाम्रो देशमा सद्भावको खाँचो छ जस्तो लाग्छ। सबैको मनमा ऊर्जा भर्न जरुरी छ। हामीले घर बनाउनभन्दा पनि मुसहरका मनमा ऊर्जा भर्न चाहेका हौं। हामीलाई लाग्छ, घर बनेसँगै बालविवाह रोकिनेछ। सबै बालबालिका नियमित स्कुल जान थाल्नेछन्। बस्ती सुन्दर घरले होइन, त्यहाँका वासिन्दाको जनजीवनमा आएको परिवर्तनले हुने हो। हामी घरसँग जनजीवन परिवर्तन गर्ने प्रयत्नमा छौं।’
भुइँचालोले घर लगेपछि करिब एक लाख भूकम्पपीडितको नाम सूचिमा समावेश छैन। उनीहरुको गुनासोलाई सरकारले सम्बोधन गर्न सकेको छैन भने नाम समावेश भएकाहरुले दोस्रो किस्ता अझै पाएका छैनन्। उता पुनर्निर्माणका लागि खटिएका इन्जिनियरहरुले हालै राजिनामा दिएका छन्। यस्तो अवस्थामा धुर्मुस–सुन्तलीले दुई÷दुईवटा एकिकृत बस्ती बसालेर नयाँ वर्षसम्म तेस्रो बस्ती हस्तान्तरण गर्ने सुर कसिसकेका छन्।
त्यसैले त जम्मा दुई व्यक्तिसँग सरकारको तुलना गरिन्छ। जनताले नतिजा निकालिसकेका छन्, सरकार फेल, धुर्मुस–सुन्तली विशिष्ट श्रेणी।
यसो किन भएको?
सुरुमा त धुर्मुस हाँसे।
उनको अनुभव सुन्दा लाग्छ, धुर्मुससँग भएका केही मुख्य कुरा सरकारसँग छैन।
त्यो हो, सरकार पहिले घोषणा गर्छ, योजना बनेकै हुँदैन। धुर्मुस–सुन्तली पहिले योजना बनाउँछन्, त्यसपछि मात्र घोषणा गर्छन्।
उनको अर्को अनुभवले भन्छ, सरकारी काममा ऊर्जाको अभाव छ।
‘हामी रकेटको गतिमा काम गर्न चाहन्छौं, सरकारी काम कछुवा गतिको छ,’ धुर्मुस भन्छन्, ‘दुइटा बस्ती बनाइसकेपछि हामीले पाएको अनुभव र आँटको भरोसा लिएर भन्न सक्छौं, हामीलाई देशभरकै भूकम्पपीडितको घर बनाउने जिम्मा दिइन्छ भने एक वर्षभित्रै पूरा गर्न सक्छौं। त्यो पनि जनताकै मेहनत र पैसाबाट। यहाँ, जनतालाई चाहिएको घर बनाउने पैसा होइन, घर बनाउन चाहिने ऊर्जा हो। देशमा यति धेरै सेना, प्रहरी र सशस्त्र प्रहरीको ठूलो शक्ति छ। त्यो शक्तिलाई लिएर काम गरे पुनर्निर्माण ठूलो कुरा होइन।’

