कञ्चनपुरको महेन्द्रनगरमा चाैपायाको बिगबिगी बढेको छ । सडकैपिच्छे छाडा चाैपायाले गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ । महिनाैंदेखि यो समस्या रहे पनि नगरपालिका भने यस सम्बन्धमा माैनझैँ रहेको छ । महेन्द्रनगरका विभिन्न ठाउँहरूमा अाहाल बनाएर बसेका चाैपायाले एकातिर नगरको सुन्दरता खल्बलाएका छन् भने अर्कोतर्फ सङ्क्रामक रोगहरूको प्रकोप समेत बढाएका छन् ।यो समस्याले विकराल रूप लिँदै गएकोमा स्थानीय भने हैरान भएका छन् । एक स्थानीयले शब्दपाटीलार्इ भने, "अहिले त झन् शक्तिशाली स्थानीय निकायहरू रहेको बेला यी समस्याहरू देखिने बित्तिकै हल हुनुपर्ने हो तर पनि नगरपालिका तथा स्थानीय निकायहरू सबै माैन रहेका छन् ।" उनले भने, "जनताका समस्यालार्इ चुनावी घोषणा मात्र बनाइनु जनप्रतिनिधिहरूको गैरजिम्मेबारीपन हो ।"
अर्कोतर्फ छाडा चाैपायाहरूले जनताको बालीनाली सखाप पारेका छन् । मुख्यतः रातको समयमा लावालस्कर लगाएर अाउने चाैपायाहरूले मानिसहरूको बारीमा पसी मकै, गहुँ लगायतका अन्नबाली निमिट्यान्न पारेका छन् । महुलियाका एक पीडित स्थानीयले भने, "यत्रो मिहेनत गरेर लगाएका मकैबारी एक रातमै चट पारेर जरा समेत राखेका छैनन् । भोलि मकै टिपाैंला भन्ने सोचिराथ्याैँ तर अघिल्लो रात नै सबै सखाप पारे डाम्नाहरूले। हाम्रो मिहेनत त पानीमा मिसिएर गयो ।"

त्यसैगरी हल्दुखाल निवासी एक स्थानीयले गुनासो पोखिन्, "हाम्रो १ बिघा जग्गामा रोपेको गहुँँबालीबाट १ कट्टा गहुँ मात्र निस्कियो, अरू सबै चाैपायाहरूले मासे । यहीं ताल रहने हो भने हामी त अनिकालले नै मर्छाैँ होला । यो हाम्रो समस्या कसले बुझिदिने ?"
अर्का एक स्थानीयले भने, "चाैपायाहरूले छापामार शैलीमा खेतमा पसेर बाली नाश गर्ने गरेका छन् । बालीनालीको रेखदेखका लागि हरेक घरबाट एक जनाले कुरूवा बस्नु परेको छ ।"
मानिसहरूले बाझा गार्इ, गोरूहरूबाट कुनै फाइदा नहुने, बिक्री समेत नहुने र भैहाले पनि कुनै मूल्य नपाइने हुनाले केही समय यता खुला रूपमा छोडिदिने गरेका छन् र यही नै समस्याको मूल जड रहेको पाइएकोछ । यो समस्यालार्इ प्रमुखताका साथ गम्भीर भर्इ नसुल्झाउने हो भने स्थानीयले भनेझैं अनिकालको भागिदर नभइएला भन्न सकिँदैन । तसर्थ नगर तथा स्थानीय निकायले कडाइका साथ छाडा चाैपायाहरूको व्यवस्थापन तथा तिनका मालिकहरूलार्इ कारबाहीको दायरामा नल्याएसम्म यो समस्या ज्युँकात्युँ रहिरहनेछ । र यसैसँग जोडिएकाे नगरको सुन्दरता, सरसफाइ, सङ्क्रामक रोगहरूको महामारी, पर्यटनमा ह्रास, दुर्घटनाको जोखिम लगायतका समस्याहरूले यथाेचित निकाश पाउन असम्भव प्रायः हुनेछ ।
![]() |
| केही महिना अगाडि नयाँ बसपार्कमा चाैपाया, अवस्था अहिले पनि एेंजन छ । |
तस्बिरः शब्दपाटी





